देश

बौद्धमा राष्ट्रिय बौद्ध तेमाल जात्रा चैत २९ गते, ६० हजार भक्तजन सहभागी हुने अपेक्षा

काठमाडौँ। बौद्ध तामाङ कल्याण गुठीको आयोजनामा यही चैत २९ गते विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा ‘राष्ट्रिय बौद्ध तेमाल जात्रा’ हुने भएको छ।

चैत पूर्णिमाको अघिल्लो दिन मनाइने सो जात्रामा श्रद्धालु भक्तजनले रातभरि नै जाग्राम बसेर आफ्ना पितृको स्मरणमा बत्ति बालेर गुरुद्वारा पूजापाठ गर्ने आयोजक संस्थाका अध्यक्ष जनमङ्गल लामाले जानकारी दिएका छन्।

यो जात्रामा विशेषगरी काभ्रेपलाञ्चोकको तिमाल क्षेत्रका तामाङलगायत मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट तामाङ समुदायको उपस्थिति रहनेछ। तिमाल जात्रा मनाउन भारत, भूटान र बर्माबाट समेत भक्तजन आउने आयोजक समितिले जनाएको छ।

मृतकको आत्माको चिरशान्तिको कामनासहित परापूर्वकालदेखि नै बौद्ध तिमाल जात्रा मनाउन थालिएको लामाले जानकारी दिए। विसं १८१९ मा तिमालका अन्तिम तामाङ राजा रिन्जिल दार्जे बलले चैत पूर्णिमालाई राजकीय चाडको मान्यता दिएको र तिमाल जात्रा सम्पन्न गर्न आफ्ना जनतालाई पठाउने गरेको जनश्रुति रहेको उनको भनाइ छ।

मेलामा नेपाल र विदेशबाट करिब ६० हजार भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। तेमाल जात्रा तामाङ समुदायका विभिन्न चाडपर्व, उत्सव वा पूजामध्ये प्राचीन समयदेखि मनाउँदै आइरहेको प्रमुख पर्व भएको लामाले जानकारी दिए। काभ्रेको तेमाल क्षेत्रका तामाङ आफ्ना दिवङ्गत आत्मको चिरशान्तिका निम्ति बौद्ध महाचैत्यमा आई विशेष पूजाआजा गर्ने भएकाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *