काँक्रेविहार (सुर्खेत)। हुम्लाको नाम्खा गाउँपालिकामा कम्तीमा ३९ वटा हिउँ चितुवा रहेको अध्ययनले देखाएको छ। डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो धुव्र संरक्षणले गरेको अध्ययनले क्यामेरा ट्र्यापिङ प्रविधिमार्फत सन् २०२२ देखि २०२३ सम्म हिउँ चितुवाको सङ्ख्या गणना गरेको थियो।
सहायक वन अधिकृत बाबुलाल बम्जनले दिएको जानकारीअनुसार उत्तरी नाम्खा गाउँपालिकामा गरिएको अध्ययनमा ३९ हिउँ चितुवा फेला परेका हुन्। हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले नाम्खा क्षेत्रमा ६१ वटा क्यामेरा जडान गरी अध्ययन गर्दा उक्त संख्यामा हिउँ चितुवा कैद भएको बताए। उनले हुम्ला सदरमुकाम सिमीकोटबाट पाँच दिन पैदल यात्रापछि लिमी पुगेर घोडा खच्चरमा सामग्री बोकी हिउँ चितुवा पाइने क्षेत्रमा पुगेको जानकारी दिए।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँ चितुवाको तथ्याङ्क सङ्कलन कार्य सम्पन्न भएको बताए। माथिल्लो डोल्पामा हिउँ चितुवा भेटिएपछि हुम्लामा पनि पाइने अनुमानका आधारमा गणना गरिएको उनले बताए। गाउँपालिकाले अब हिउँ चितुवा संरक्षणका लागि विशेष कार्यक्रम बनाउने तयारी गरिरहेको अध्यक्ष लामाले जानकारी दिए।
सहायक वन अधिकृत बम्जनले हाललाई नाम्खा गाउँपालिकाभित्र मात्र अध्ययन गरिएको बताए। सरकारले सन् २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई प्राथमिकतामा राखेको उनले जानकारी दिए। चीनको तिब्बतसँग सीमा जोडिएको नाम्खामा छ वटा वडा रहेका छन् र यसको कुल क्षेत्रफल करिब दुई हजार ४१९ दशमलव ६४ वर्ग किलोमिटर रहेको छ।




