काठमाडौं । धरानमा वर्षौँदेखिको खानेपानी अभाव चर्किँदै गएको सन्दर्भमा खानेपानी मन्त्री प्रदीप यादवले स्थायी समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साङपाङ) नेतृत्वमा काठमाडौं आएका प्रतिनिधिमण्डलले सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भेट गर्दै समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेटमा विशेष विनियोजनको माग गरेका थिए।
प्रतिनिधिमण्डलसँगको छलफलपछि मन्त्री यादवले धरानको पानी समस्या सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै दातृ निकायहरूसँग सहकार्यमा दीर्घकालीन समाधान गरिने आश्वासन दिए। “धरानको पानी समस्याबारे मलाई पहिले देखिनै जानकारी छ। अहिले मन्त्रालय स्तरमै त्यसलाई गम्भीरताका साथ अघि बढाइएको छ,” मन्त्री यादवले प्रतिक्रिया दिए।
नगरप्रमुख साङपाङले गर्मी मौसम सुरु भएसँगै धरानमा पानीको चरम अभाव भएको भन्दै, दैनिक जीवन कष्टकर बनेको जनाए। “यो समस्या नयाँ होइन, तर अहिलेको अवस्था झन् संकटपूर्ण छ। स्थायी समाधानका लागि बजेट माग गरेका हौं,” उनले भने। प्रतिनिधिमण्डलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा धरानको खानेपानी योजना प्राथमिकतामा राख्न माग गर्दै लिखित प्रस्ताव पनि बुझाएका छन्।




