देश

दुर्गा प्रसाईका दाजु राकेश प्रहरी नियन्त्रणमा, तीनकुने घटनासँग सम्बन्धको आशंका

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा चर्को आन्दोलन चालेका दुर्गा प्रसाईका दाजु राकेश प्रसाईलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतका अनुसार राकेशको पेरिसडाँडास्थित निवासमा दुर्गा प्रसाई लुकेर बसेको तथ्य फेला परेपछि उनलाई आइतवार राति नियन्त्रणमा लिइएको हो। यद्यपि, तीनकुने घटनामा राकेशको प्रत्यक्ष संलग्नता पुष्टि नभएकाले औपचारिक मुद्दा भने हालसम्म दर्ता गरिएको छैन।

एक प्रहरी अधिकृतका अनुसार राकेशलाई प्रारम्भिक सोधपुछपछि खोजेको बेलामा उपस्थित हुने शर्तमा रिहा गरिने सम्भावना छ। “मुद्दा दर्ता हुने खालको प्रस्ट प्रमाण छैन,” ती अधिकृतले बताए, “तर दुर्गा प्रसाईको अभियानमा उनी पनि सक्रिय छन्, र सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्तिका कारण चर्चामा छन्।”

दुर्गा प्रसाई ‘जनकमाण्डर’ घोषित भएर सरकार विरोधी आन्दोलनको नेतृत्व गरिरहेका बेला उनका दाजु र भाइहरूको भूमिकाबारे पनि चासो बढेको छ। दुर्गाका जेठा दाजु लक्ष्मी, माइला राकेश, र दुर्गा स्वयं साइला हुन् भने अर्की आमातिरका भाइ नरेन्द्र अष्ट्रेलियामा बसोबास गर्छन्। हालसम्म दुर्गा प्रसाई फरार रहेका छन् भने प्रहरी उनलाई खोजी गर्ने कार्यमा सक्रिय देखिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *