काठमाडौँ । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको शान्तिपूर्ण आन्दोलन आज पनि जारी छ। शिक्षकहरूले बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन्।
गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरू चैत २० गतेदेखि आन्दोलित भएका हुन्। नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
महासङ्घले विज्ञप्ति जारी गरी उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार र शैक्षिक भ्रमणजस्ता काममा संलग्न नहुन शिक्षकहरूलाई आग्रह गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण सकेर फर्केपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा शिक्षकहरूले शान्तिपूर्ण प्रदर्शनमा आएको बताएका थिए। उनले सरकारले शिक्षकहरूको आवाज सुन्ने विश्वास व्यक्त गर्दै समस्या समाधानका लागि छलफल गर्ने बताएका थिए।




