गलकोट (बागलुङ)। बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैते दसैंको मुख्य दिन चैत्राष्टमीमा अहिलेसम्मकै धेरै भक्तजनले दर्शन गरेका छन् । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार, एकै दिन तीन लाख भक्तजनले मन्दिरको दर्शन गरेका हुन्।
चैते दसैं मेला कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। चैते दसैंको मुख्य दिन शनिबार अष्टमीको दिन मात्रै तीन लाख भक्तजन कालिका मन्दिर दर्शनका लागि आएका थिए। सोही दिन ११ लाख ८१ हजार रुपैयाँ भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।
चैते दसैंमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्न नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत धार्मिक पर्यटक आउने गरेका छन्। पछिल्लो समय प्रचारप्रसार र पूर्वाधार निर्माणसँगै कालिका मन्दिरमा दर्शनार्थीको संख्यामा वृद्धि भइरहेको खड्काले बताए।
मुस्ताङ हिँडेका धार्मिक पर्यटक कालिका दर्शनका लागि आउने गरेको उनले बताए। चैते दसैंको मुख्य दिन एकै पटक एक हजार चार पाङ्ग्रे सवारीसाधनले बाङ्गेचौर खेल मैदान भरिएको जानकारी उनले दिए। चैते दसैं सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ। मुख्य दिन बिहान ४ बजेदेखि एक किलोमिटरभन्दा लामो लाइनमा भक्तजनले लामबद्ध भएर कालिका मन्दिर दर्शन गरेका थिए।
“अहिलेसम्मकै बढी भक्तजन कालिका मन्दिरमा भित्रिएको अनुमान छ। सिसी क्यामेरा, फूलप्रसाद बिक्रीको संख्या, भेटीको संख्या र एक किलोमिटरभन्दा लामो लाइन दिनभर भएकाले चैते दसैंको मुख्य दिन मात्र तीन लाख दर्शनार्थी र चैते दसैंभर छ लाख पर्यटक भित्रिएका छन्,” अध्यक्ष खड्काले भने, “चैते दसैंमा बलीको संख्या घटे पनि नगद भेटी चढाउनेको संख्या बढेकाले एकै दिन ११ लाख भेटी संकलन भएको हो।”
नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैते दसैं मेला यस वर्ष चैत २० देखि २५ गतेसम्म चलेको छ। नवरात्रको चौथो दिनदेखि नै कालिका मन्दिरको पार्किङस्थलले नथेगेपछि धार्मिक पर्यटक बोकेका सवारीसाधनलाई बाङ्गेचौर खेल मैदानमा पठाइएको थियो। चैते दसैं मेलामा तीन करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने मन्दिर व्यवस्थापन समितिको अपेक्षा छ। कालिका मन्दिरका कारण बागलुङको पर्यटन व्यवसाय फस्टाउँदै गएको पर्यटन व्यवसायी एन्जिल शाक्यले बताए।
पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकाको मूर्ति घना जंगलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ। कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको इतिहास छ। चैते दसैं मेलामा घरायसी प्रयोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायत वस्तुहरूको परम्पराकालदेखि नै किनमेल हुने गरेको छ।




