काठमाडौँ। नेपाल बार एशोसिएसनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सोमबारदेखि सुरु हुने भएको छ।
बारको नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको मतदानको मतपेटिका आइतबार बेलुकासम्म काठमाडौँ आइपुग्ने र सोमबारदेखि मतगणना सुरु गरिने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले जानकारी दिएका छन्।
बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो। कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो।
काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो। बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्।
वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ।




