काठमाडौँ। नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ अधिवक्ताद्वय प्राडा विजयप्रसाद मिश्र र रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ। दुवै उम्मेदवारले न्यायालयको सुधार र कानुन व्यवसायीको हकहितलाई मुख्य चुनावी मुद्दा बनाएका छन्।
आज बिहान ८ बजेदेखि सुरु भएको निर्वाचनमा मिश्र र श्रेष्ठ आ-आफ्नो समूहसहित चुनावी मैदानमा छन्। मिश्रको समूहले नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार, न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने र कानुन व्यवसायीको व्यावसायिक सुरक्षामा जोड दिएको छ। श्रेष्ठको समूहले नेपाल बारको संस्थागत सुधार, कानुन व्यवसायीको क्षमता अभिवृद्धि र भ्रष्टाचारमुक्त न्यायालय निर्माणलाई प्राथमिकतामा राखेको छ।
अध्यक्ष पदका लागि अन्य तीन स्वतन्त्र उम्मेदवार राजु कैती, उज्वल घिमिरे र आशिष पौडेल पनि प्रतिस्पर्धामा छन्। २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ।
मिश्रको समूहबाट महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र श्रेष्ठको समूहबाट यज्ञमणि न्यौपाने प्रतिस्पर्धामा छन्। प्रमुख निर्वाचन अधिकृत रामकृष्ण निरालाका अनुसार ९ हजार ९५७ मतदाताले ३६ मतदान केन्द्रबाट मतदान गर्दैछन्। काठमाडौँको सर्वोच्च अदालत परिसरमा रहेको मतदान केन्द्रमा करिब ६ हजार मतदाता छन्। मतदान आज बिहान ८ बजेदेखि सुरु भई ४ बजे सम्पन्न हुनेछ।




