काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले चैत १५ गते काठमाडौँको तीनकुने र आसपासका क्षेत्रमा भएको हिंसात्मक घटनाको छानबिनलाई तीव्रता दिएको छ। आयोगले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै विभिन्न टोली परिचालन गरी अनुसन्धान गरिरहेको जनाएको छ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार, घटनाको अनुगमन गरी प्राप्त प्रारम्भिक जानकारीका आधारमा विज्ञप्तिमार्फत आयोगले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका टिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको उनले बताए।
घटना घटेको दिनदेखि नै आयोगले क्षति र मानव अधिकार उल्लंघनका विषयमा थप उजुरी र ज्ञापनपत्रहरू संकलन गरेको छ। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आयोगले तत्काल अनुसन्धान टोली परिचालन गरी छानबिन गरिरहेको प्रवक्ता पोखरेलले जानकारी दिए।
आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा रहेको टोलीले नजरबन्दमा रहेका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको छ। टोलीले प्रहरी हिरासतमा रहेका अन्य व्यक्तिहरूको अवस्था र घाइतेहरूको उपचारबारे विभिन्न अस्पतालमा पुगी जानकारी लिएको छ।
आयोगले छानबिन र अनुसन्धान कार्यमा सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।




