देश

सांस्कृतिक धरोहर: सेतो मच्छिन्द्रनाथको रथयात्रा चैत २३ देखि

काठमाडौँ। काठमाडौँको सांस्कृतिक धरोहर सेतो मच्छिन्द्रनाथको रथयात्रा यही चैत २३ गतेबाट सुरु हुने भएको छ। स्थानीय भाषामा ‘जनबहाः द्यः’ भनेर चिनिने यस देवतालाई बौद्धमार्गीहरूले आर्यावलोकितेश्वर वा करुणामयको रूपमा पूजा गर्ने परम्परा छ।

हरेक वर्ष पौष शुक्ल अष्टमीको दिन महास्नान गराई सुरु हुने यो रथयात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाः द्यः रथ जात्रा व्यवस्थापन समितिले गर्ने भएको छ। विगत १३ वर्षदेखि रथयात्राको व्यवस्थापन गर्दै आएको समितिले यस वर्ष पनि २० वटा उपसमिति गठन गरेको छ।

समितिका सचिव सुजिव बज्राचार्यका अनुसार चैत २३ गते पहिलो दिन तीनधारा पाठशाला जमलबाट रथ तानेर असन पुर्‍याइनेछ। त्यसैगरी, चैत २४ गते असनबाट हनुमानढोका र चैत २५ गते हनुमानढोकाबाट लगनटोल पुर्‍याइने कार्यक्रम रहेको छ। चैत २६ गते लगनटोल डबलीमा रहेको रुखलाई तीनपटक परिक्रमा गराएपछि चैत २७ गते बेलुकीपख खटमा राखेर सेतो मच्छिन्द्रनाथलाई पुनः जनबहालस्थित मन्दिरमा फर्काइनेछ।

यस वर्षको रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेलले असन पुर्‍याउने दिन बेलुकी दर्शन गर्ने कार्यक्रम रहेको छ। पर्यटन बोर्डको संयोजनमा पहिलो दिन जमलमा विदेशी पर्यटकहरूलाई रथयात्रा अवलोकन गराउने विशेष कार्यक्रम राखिएको छ।

काठमाडौँको सबैभन्दा ठूलो रथयात्राको रूपमा परिचित यो जात्राको समापनपछि देशका अन्य भागमा रथयात्रा सुरु हुने भएकाले यसको विशेष सांस्कृतिक महत्त्व रहेको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *