विश्व

म्यानमारको भूकम्पमा मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

काठमाडौँ । गत शुक्रबार म्यानमार र थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पपछि ठूलो क्षति भएको छ ।

पछिल्लो विवरण अनुसार म्यान्मारमा मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । म्यानमारको सरकारी मिडियाले भूकम्पबाट मृत्यु हुनेको संख्या ३०८५ पुगेको जानकारी दिएको हो । त्यस्तै घाइते हुनेको संख्या ४७ सय १५ पुगेको छ भने अझै ३७३ जना बेपत्ता रहेको जानकारी दिइएको छ । मृतक र घाइतेहरूको संख्या बढ्ने अनुमान गरिएको छ ।

त्यस्तै थाइल्याण्डमा पनि भूकम्पबाट अहिलेसम्म २१ जनाको मृत्यु भएको छ ।

म्यान्मारमा भूकम्पबाट करिब ३५ लाख मानिस घरबार बिहिन बनेको मिडिया रिपोर्टमा उल्लेख छ । म्यानमारको सत्तारुढ सैन्य सरकारले देशमा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार म्यानमारमा घोषणा गरिएको राष्ट्रिय शोक अप्रिल ६ सम्म जारी रहनेछ । यस समयमा झण्डा आधा झुकाइनेछ । शक्तिशाली भूकम्पपछि म्यानमारमा आपतकाल घोषणा गरिएको छ ।

मार्च २८ मा रेक्टर स्केलमा ७.७ म्याग्निच्युडको यस भूकम्पको केन्द्रबिन्दु म्यानमारको दोस्रो ठूलो शहर मन्डले नजिकै थियो । भूकम्पको धक्का महसुस भएको केही समयपछि ६.४ म्याग्निच्युडको भूकम्प पनि गएको र त्यसपछि सयौं परकम्पन गएका थिए ।

पहिलो दुई भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटर तल थियो भने तेस्रो भूकम्प जमिनभन्दा २२.५ किलोमिटर तल गहिराइमा गएको थियो ।

अहिले युद्धस्तरमा राहत र उद्धारको काम भइरहेको छ । भूकम्पपछि अमेरिका, युरोपेली युनियन, भारत, चीन जस्ता देशले उद्धारका लागि सहयोग गरेका छन् । त्यस्तै संयुक्त राष्ट्रसंघले विश्व समुदायसँग म्यान्मारलाई सहयोग गर्न अपिल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *