देश

तीनकुने घटनाबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रीलाई बोलाइयो

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत १५ गते भएको आन्दोलनका क्रममा घटेका सबै घटनाहरुको बारेमा गृहमन्त्रीले समितिलाई जानकारी गराउनुपर्ने बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा बोल्दै शर्माले तीनकुने घटनाको सबै जानकारी गृहमन्त्रीले समितिमा दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘संसदमा एउटा परम्परा छ । त्यो परम्परा भनेको के हो भने एउटा बैठक बसे पछाडि अर्को बैठक बस्ने अवधिको बीचमा यदी मुलुकमा कुनै प्रकारको गम्भिर प्रकृतिको घटना हुन्छ भने त्यो संसदको गहिरो ध्यानाकर्षणको विषय बन्छ । संसदमा माननिय गृहमन्त्रीज्युले जवाफ दिनलाई चाँही अनुकुल समय विविध कारण मिलेन । पहिला द्वन्द्व थियो पछि दीपक बोहोरा जिको घटना भयो । राज्य व्यवस्था समितिको यो बैठकमा गृहमन्त्री ज्युलाई बोलाउनुपर्छ । गृहमन्त्रीले राज्य प्रशासनको तर्फबाट राज्यको बुझाई के हो ? भएको विषय वस्तु के हो ? ४ हजारसम्मको भिड व्यवस्थापन गर्न क्षमता नभएको हो राज्यसँग ? यो समग्र विषयमा समितिलाई जानकारी गराउन ध्यानाकर्षण गर्दछु ।’
साथै उनले राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो एजेण्डा चैत १५ गतेको घटनाहुनुपर्नेमा त्यसमा समितिले किन ध्यान नदिएको भन्दै प्रश्न गरे । उनले समितिको एजेण्डा निर्माण गर्ने प्रक्रियामा कहाँ कमि भयो ? यो परम्परा के हो ? यसमा हामीले किन ध्यान दिएनौं ? भन्दै गम्भिरतापूर्वक समितिलाई ध्यानाकर्षण पनि गराए ।

उनले भने, ‘अहिले संसद नबसिरहेको बेलामा उसै पनि मिनि संसद त्यसमा पनि राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो एजेण्डा चैत १५ गतेको घटनाहुनुपर्ने थियो । यो एजेण्डा निर्माण गर्ने प्रक्रियामा कहाँ कमि भयो ? यो परम्परा के हो ?यसमा हामीले किन ध्यान दिएनौं ? यसमा म गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न चाहन्छु।’ न्यायिक छानिबन समितिको मापदण्डबारे भने स्पष्ट हुनुपर्ने उनको धारणा छ । समग्र छानबिनका लागि सरकारले न्याय समिति बनाउनुपर्ने उनले बताए ।

राजावादीको प्रदर्शनका क्रममा गत शुक्रबार तीनकुने घटनामा दुईजनाको मृत्यु भएको थियो । केही घर तथा सार्वजनिक सम्पत्तिमा आगजनी भएको थियो । उक्त घटनाका विषयमा गृहमन्त्री रमेश लेखकलाई बोलाएर छलफल गर्नुपर्ने शर्माले बताए। यसैगरी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारले सरकारले चाँडै जवाफ दिनुपर्ने बताए । उनले प्रहरी घेरामा रहेका दुर्गा प्रसाईंलाई पक्राउ नगरिएकोप्रति आक्रोश पोखे ।

उनले भने, ‘चैत १५ गतेको घटनामा सरकारले चाँडै जवाफ दिनुपथ्र्यो । प्रधानमन्त्री नै आएर जवाफ दिनुपथ्र्यो । सरकारले गणतन्त्रको बारेमा, संविधानको रक्षाको बारेमा कुरा गर्यो । तर चैत १५ गतेको घटना के हो ? समितिमा गृहमन्त्री आउनुपर्छ, सरकारले ठिक गरेन, आफ्नै प्रहरीले घेरामा हालेको बेलामा दुर्गा प्रसाईंलाई नसमात्ने, अहिले छिटोभन्दा छिटो पक्रिन्छौँ भन्दा कसले पत्याउने ?’

यसैगरी राज्य व्यवस्था तथा सुशासनसमितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री रमेश लेखकलाई शुक्रबार चैत २२ गतेको बैठकमा बोलाइने बताएका छन् । उनले तीनकुने घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको बताए ।

उनले भने, ‘जहाँसम्म अहिले गृहमन्त्रीलाई १५ गतेकोघटनाबारे जानकारी गराउनुपर्ने छ, त्यसका लागि समितिले सम्पर्क गरेको छ । अब २२ गते शुक्रबार ११ बजे समितिको अर्को बैठक बस्नेछ । त्यसमा तीनकुने घटनाको बारेमा यथार्थ जनताका बिचमा लानेगरी हामी गृहमन्त्रीलाई बोलाउने छौं ।’

आजको बैठकमा समितिका सदस्यहरूले तीनकुने घटनाबारे सरकारले जवाफ दिनुपर्ने माग राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *