देश

सापटीको पैसाले लियो ज्यान : वर्कसपमा हत्या, खाल्डोमा गाडियो शव

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५, बाहुनधाराका १९ वर्षीय राहुल साह आफ्नै चिनजानका व्यक्तिसँग सापटी दिएको १ लाख १० हजार रुपैयाँ फिर्ता माग्न निस्केका थिए। तर, उनी घर फर्केनन्। परिवारले खोजी गर्दै प्रहरीसम्म पुगेपछि घटनाले भयावह रूप लियो। अनुसन्धानका क्रममा राहुलको शव मोटरसाइकल वर्कसपमै गाडिएको अवस्थामा फेला पर्यो।

घरबाट निस्के, तर कहिल्यै फर्केनन्

११ चैतको साँझ राहुलले परिवारलाई सापटीको पैसा लिन जान्छु भने। तर, मध्यरातसम्म पनि नफर्किएपछि परिवार चिन्तित भयो। १२ चैतमा बौद्ध प्रहरी वृत्तमा बेपत्ताको उजुरी दिएपछि खोजी सुरु भयो।

परिवारका अनुसार राहुल गोकर्णेश्वर–माकलबारीस्थित ‘आरके मोटरसाइकल वर्कसप’ का सञ्चालक निपु मण्डललाई पैसा फिर्ता माग्न गएका थिए। अनुसन्धानकै क्रममा प्रहरीले सोही वर्कसपमा पुगेर प्रारम्भिक छानबिन गर्यो, तर केही प्रमाण फेला परेन।

तर, शंका गहिरिएपछि प्रहरीले १५ चैतमा पुनः खोजी गर्‍यो। वर्कसपको पछाडिको जमिन अनौठो देखिएपछि उत्खनन गरियो। त्यहाँ खाल्डो खनेर गाडिएको अवस्थामा राहुलको शव भेटियो।

हत्या गरी शव लुकाउने प्रयास
प्रहरी अनुसन्धान अनुसार, सापटीको रकम फिर्ता माग्दा विवाद चर्किएपछि राहुलको हत्या भएको हो। राति ११ बजेतिर वर्कसप सञ्चालक निपु मण्डल र उनका साथीहरूले मिलेर हत्या गरे। शव लुकाउन वर्कसपमै खाल्डो खनेर गाडियो। घटनामा संलग्न ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा –
निपु मण्डल (वर्कसप सञ्चालक)
सुनिल शर्मा (बिहार, भारतं)
विजय यादव (सर्लाही)
करणकुमार महतो (सर्लाही)
जोधन मण्डल (सर्लाही)
उत्तम मण्डल (सर्लाही)

प्रहरीले उनीहरूलाई कर्तव्य ज्यानको कसुरमा पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको छ। राहुल जोरपाटीको भेनस पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिए। उनले वर्कसप सञ्चालक निपुलाई १ लाख १० हजार रुपैयाँ सापटी दिएका थिए।

हत्या भएको दिन राहुल पैसा फिर्ता माग्न वर्कसप पुगेका थिए। तर, निपुले पैसा दिन आनाकानी गरे। वाद–विवाद चर्किँदै जाँदा वर्कसपका अन्य व्यक्तिहरू पनि विवादमा सामेल भए र राहुललाई हत्या गरियो।

हत्या गरेपछि शव व्यवस्थापन गर्न नसक्दा वर्कसपकै पछाडि खाल्डो खनेर गाडिएको प्रहरीको निष्कर्ष छ। प्रहरीले फरार रहेका केही अभियुक्तलाई सर्लाहीबाट पक्राउ गरेको हो भने अन्यलाई काठमाडौंकै विभिन्न स्थानबाट समातेको हो।

पक्राउ परेकाहरू विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।राहुलका परिवारले दोषीलाई कडा सजायको माग गरेका छन्। प्रहरीले घटनामा संलग्न थप व्यक्तिहरूको खोजी गरिरहेको छ। सापटीको सामान्य विवादकै कारण एक निर्दोष युवकले ज्यान गुमाउनुपर्‍यो। अब न्याय पाउनेछ कि छैन, हेर्न बाँकी छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *