काठमाडौं । नेपाल पत्रकार महासंघले तीनकुने घटनाका पीडित पत्रकार तथा सञ्चारमाध्यमलाई क्षतिपूर्ति र सुरक्षा दिन सरकारलाई सात दिने अल्टिमेटम दिएको छ।
महासंघले आज गृहमन्त्री रमेश लेखक, प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई औपचारिक ध्यानाकर्षण पत्र बुझाएको छ।
पत्रकार सुरेश रजकको हत्या प्रकरणमा दोषीमाथि तत्काल कारबाही गर्न माग,रजकका परिवारलाई उचित क्षतिपूर्ति र सहयोगको व्यवस्था गर्न आग्रह, मिडिया हाउसहरू – अन्नपूर्ण पोस्ट, कान्तिपुर टिभी, हिमालयन टिभीमा भएको तोडफोड र आगजनीको क्षतिपूर्ति दिन माग महासंघले गरेको छ । यस्तै महासंघले घाइते पत्रकारहरूको निःशुल्क उपचार सुनिश्चित गर्न समेत आग्रह गरेको छ ।
महासंघले विगतदेखि निरन्तर भइरहेको प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा संलग्नहरूमाथि कानूनी कारबाही गर्नुपर्ने माग पनि अघि सारेको छ। सञ्चारमाध्यम र पत्रकारहरूको सुरक्षाका लागि विशेष सुरक्षा प्रबन्ध गर्न सरकारलाई निर्देशन / पत्रकारहरूमाथि हुने आक्रमण रोक्न ठोस कदम चाल्नुपर्ने माग गरेकाे छ ।
सरकारलाई चेतावनी – माग पूरा नभए कडा आन्दोलन
नेपाल पत्रकार महासंघले सात दिनभित्र आफ्ना मागहरू पूरा नभए सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। माग पूरा नभए देशभर विरोध प्रदर्शन गर्ने महासंघको तयारी छ ।
महासंघले प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षालाई गम्भीर रूपमा लिन सरकारलाई सचेत गराएको छ। यदि माग पूरा नभए, प्रेस जगत नै आन्दोलनमा उत्रने तयारीमा रहेको महासंघले स्पष्ट पारेको छ।




