विश्व

म्यान्मारको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुग्यो

काठमाडौँ । म्यान्मारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी एक हजार ६४४ जनाको मृत्यु भएको छ भने तीन हजार ४०८ जना घाइते भएका छन् ।

अझै पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ । मध्य म्यान्मारको सागिङ सहरको उत्तर पश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो । भूकम्पले म्यान्मारमा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो ।

म्यान्मारमा कम्तीमा एक हजार ६४४ जनाको मृत्यु भएको र करिब तीन हजार ४०८ जना घाइते भएको म्यान्मार सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैंककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।

भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्यांक सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशंका गरिएको छ । विमानस्थल तथा सडकहरू बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्‍याउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *