काठमाडौँ। नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा सिचुवान–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिचुवान शृङ्खला चीनको छेन्दुमा सुरु भएको छ।
सिचुवान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासको संयुक्त आयोजनामा गत शुक्रबार छेन्दुमा व्यापार आदानप्रदान सिचुवान शृङ्खला सुरु भएको हो।
सिचुवान प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिचुवानबीचको सम्बन्ध प्रगाढ हुँदै गएको बताए। उनले पोखरा महानगर प्रमुखको नेतृत्वमा हालै भएको भ्रमण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान विमान कम्पनीले छेन्दुमा सीधा हवाई सेवा सुरु गरेपछि दुई देशबीचको आदानप्रदान बढेको बताए।
छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले जनस्तरमा हुने व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले दुई देशको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने बताए।
महिनाभरि सञ्चालन हुने सिचुवान शृङ्खलामा सिचुवान प्रान्तका विभिन्न सहरमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुनेछन्। यसले नेपाल र चीनबीचको सांस्कृतिक, व्यापारिक, आर्थिक र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास महावाणिज्य दूतावासले व्यक्त गरेको छ।




