विश्व

शक्तिशाली भूकम्पबाट म्यान्मारमा ठुलो क्षति, १४४ जनाको मृत्यु

काठमाडौँ । शुक्रबार म्यानमार र थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पपछि ठूलो क्षति भएको छ । यस शक्तिशाली भूकम्पमा भवन, पुल र बाँधहरूमा क्षति पुगेको छ ।

सबैभन्दा बढी प्रभावित दुई शहरहरूबाट एउटा विचलित पार्ने दृश्य देखा परेको छ । रिक्टर स्केलमा ७.७ म्याग्निच्युडको यस भूकम्पको केन्द्रबिन्दु म्यानमारको दोस्रो ठूलो शहर मन्डले नजिकै थियो । रिपोर्टका अनुसार दिउँसो १२ बजेतिर भूकम्पको धक्का महसुस भएको केही समयपछि ६.४ म्याग्निच्युडको भूकम्प पनि गएको थियो ।

गृहयुद्धमा फसेको म्यानमारमा एक आधिकारिक विज्ञप्तिमा म्यानमारको सैन्य सरकार प्रमुखले मृत्यु हुनेको संख्या १४४ पुगेको बताएका छन् भने ७३० जना घाइते भएका छन् । मृतक र घाइतेहरूको संख्या बढ्ने अनुमान गरिएको छ ।

यसैबीच, राजधानी नेपिडबाट लिइएका तस्बिरहरूमा भूकम्पबाट क्षतिग्रस्त धेरै भवनहरू देखाइएको छ र उद्धार टोलीहरूले पीडितहरूलाई भग्नावशेषबाट बाहिर निकालेका छन् ।

म्यानमार सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रका अस्पतालहरूको रक्त बैंकहरूमा रगतको अभाव रहेको बताएको छ ।

म्यानमारमा पहिलो भूकम्प बिहान ११:५० बजे गएको थियो, यसको तीव्रता ७.२ मापन गरिएको थियो । यसपछि, दोस्रो भूकम्प दिउँसो १२:०२ बजे आयो, यसको तीव्रता ७ मा मापन गरिएको थियो । यसपछि, एक-एक घण्टाको अन्तरालमा थप दुई भूकम्पका झट्का महसुस गरियो । भूकम्पको धक्का भारत, चीन र बंगलादेशसम्म महसुस गरिएको थियो ।

भूकम्पले थाइल्यान्डमा पनि ठुलो असर गरेको छ । बैंकक प्रहरीले दिउँसो थाई राजधानीमा गएको ७.७ म्याग्निच्युडको भूकम्पमा निर्माणाधीन एउटा गगनचुम्बी भवन भत्किएको बताएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भएको खबर आएको छ । प्रहरीका अनुसार घटना बैंककको लोकप्रिय चतुचक बजार नजिकै भएको हो । भत्किँदा घटनास्थलमा कति कामदार थिए भन्ने बारेमा तत्काल कुनै जानकारी छैन ।

शक्तिशाली भूकम्पपछि म्यानमार र थाइल्याण्डमा आपतकाल घोषणा गरिएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.२ र ७.० भएको बताएको छ । पहिलो दुई भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटर तल थियो भने तेस्रो भूकम्प जमिनभन्दा २२.५ किलोमिटर तल गहिराइमा गएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *