देश

अन्नपूर्ण आरोहणका लागि ४२ जनाको अनुमति, शुल्क १ करोड ४७ लाख सङ्कलन

 

म्याग्दी। वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि ४२ जनाले अनुमति लिएका छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्दछ।

वसन्तयामका लागि चार समूहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ। हालसम्म नेपालका पाँच वटा हिमाल आरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन्। अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोही बढेका छन्।

अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभागले १ करोड ४७ लाख ९ हजार ४ सय २० रुपैयाँ शुल्क सङ्कलन गरेको छ। अघिल्लो वर्षको वसन्तयाममा २५ जनाले अनुमति लिँदा ५९ लाख ६१ हजार ७ सय ८० रुपैयाँ शुल्क सङ्कलन भएको थियो।

अनुमति लिएका आरोहीहरू आधार शिविर पुग्न थालेका अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोज पदमार्गका अभियन्ता तेज गुरुङले बताएका छन्। अन्नपूर्ण आरोहणका लागि यो याम उपयुक्त मानिन्छ। हालसम्म ४ सय ८८ जनाले अन्नपूर्णको सफल आरोहण गरेका छन्।

आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आगामी जेठ २० गते अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा विशेष कार्यक्रमको तयारी गरेको छ।

सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण आरोहण गरेको तीन वर्षपछि सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *