काठमाडौं। काठमाडौं उपत्यकामा आज विभिन्न राजनीतिक प्रदर्शनका कारण सडकमा सवारी जाम हुने सम्भावना छ। तीनकुनेमा राजावादी समूह र भृकुटीमण्डपमा गणतन्त्रवादीहरूको प्रदर्शन हुने भएकाले यी क्षेत्रमा सवारी जाम हुने अनुमान गरिएको छ।
ट्राफिक व्यवस्थापनको लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइने प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए। प्रदर्शनका कारण रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन प्रभावित हुने देखिन्छ। साथै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, र बानेश्वर क्षेत्रमा पनि सवारी जाम हुने अनुमान गरिएको छ।
आवश्यकताअनुसार विभिन्न सडकमा सवारी डाइभर्सन हुने र ट्राफिक प्रहरी पालैपालो खटिने गिरीले बताउनुभयो। भृकुटीमण्डपमा प्रदर्शन बिहान १२ बजेदेखि र तीनकुनेमा १ बजेदेखि शुरु हुने तय भएको छ।
सवारी जामका कारण यातायातमा असहजता नहोस् भनी ट्राफिक प्रहरीले सडकमा यात्रा गर्ने सबैले अतिरिक्त समय राखी सावधानी अपनाउन आग्रह गरेको छ।




