देश

निर्माण सकिनै लाग्दा रावण पार्क विवादमा फस्यो

म्याग्दी । बेनी नगरपालिका–५ पछैमा निर्माणाधीन रावण पार्कको कामले म्याद सकिएको दुई वर्षपछि गति लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले रु एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो।

योजनाको नियमित प्रतिवेदन बुझाउन नसक्दा २०७९/८० र २०८०/८१ मा बजेट व्यवस्थापन हुन नसकेको र निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि निर्माण ४४ महिनासम्म रोकिएको थियो। बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँका अनुसार बजेट व्यवस्थापन गरेर २०७८ साल असारदेखि रोकिएको निर्माणकार्यलाई लयमा फर्काइएको छ।

पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माणको काम करिब सकिएको छ भने रावणको मूर्ति राख्ने ठाउँमा जग खन्न थालिएको छ। ठेकेदारले रु १८ लाख खर्चेर छ मिटर अग्लो रावणको मूर्ति तयार पारे पनि सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो नलागेसम्म मूर्ति राख्ने विषयमा अन्योल छ।

पर्वतका केदारनाथ दासले रावणको प्रतिमा नराख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, जुन हाल विचाराधीन छ।

पछैस्थित पुलाश्रम मन्दिरका पुजारी जगदीश सुवेदीका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएको र उनको नाभी गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ।

करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क निर्माण भइरहेको छ। पार्कमा ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई संरक्षण गरी बगैँचा, विश्रामस्थल, घेरबारलगायत पूर्वाधार निर्माणको काम ७० प्रतिशत सकिएको छ।

रावण पार्क निर्माणस्थलबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला र म्याग्दीका विभिन्न भूभागको दृश्यावलोकन गर्न सकिन्छ। यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ। रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ।

बेनी बजारबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ। बेनी अर्थुङ्गे हुँदै बाँसबोटसम्मको सडक कालोपत्र भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *