काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्ड विपरीत बनेका संरचनाहरू हटाउने अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा बिहीबार प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकुरेलको घरमा समेत डोजर चलेको छ।
काठमाडौं महानगरपालिका वडा नं ३१ स्थित संसद् भवनको पछाडि रहेको एकता टोलको प्रवेशद्वारमै रहेको प्याकुरेलको घरले आठ मिटरको सडक मिचेको पाइएको थियो। यसलाई हटाउन प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त इन्जिनियर सुभाष बस्नेतको नेतृत्वमा टोली पुगेको थियो।
प्राधिकरणको टोलीले घर अगाडि रहेको सटर भत्काउन प्रयास गरे पनि स्थानीय बासिन्दा र व्यवसायीको विरोधपछि कार्य स्थगित गरिएको छ। घरको भुइँ तलामा रहेका मदिरा पसल, सानो होटल र स्टेशनरी जस्ता व्यवसायिक संरचनाले सार्वजनिक बाटो मिचेको प्राधिकरणले जनाएको छ।
यसअघि पनि प्राधिकरणले नायब आयुक्त प्याकुरेललाई मापदण्डअनुसार संरचना हटाउन पटक–पटक आग्रह गरेको थियो। तर, उनले आफ्नो पदको दुरुपयोग गर्दै स्थानीयलाई उचाल्ने र कानुनी प्रक्रिया अड्काउने प्रयास गरेको आरोप लागेको छ।
प्याकुरेलले भने आफ्नो घर गाइडेड ल्यान्ड प्लानिङ लागू हुनु भन्दा पहिले नै निर्माण भएको दाबी गर्दै आएका छन्। उनले प्राधिकरणमा पदबहाली गरेपछि नै एकता टोलको सडक मापदण्डलाई आठ मिटरबाट घटाएर छ मिटर पुर्याएको बताएका छन् ।
प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त बस्नेतले भने उपत्यकाभित्र हडपिएका हजारौँ रोपनी सरकारी जग्गा फिर्ता ल्याउने अभियान जारी रहेको जानकारी दिए। उनले अवैध प्लटिङ रोक्ने कार्यलाई प्राथमिकता दिइएको र अवैध कब्जामा परेका सरकारी जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाइएको बताए।
यसअघि पनि बस्नेत नेतृत्वमा प्राधिकरणले बानेश्वर क्षेत्रमा मापदण्ड विपरीत बनेका सडक खुलाउने कार्य गरिसकेको छ। शक्तिशाली व्यक्तिहरूले कब्जा गरेका भित्री सडकहरू खुलाउने अभियानलाई निरन्तरता दिइरहेको बस्नेतले बताए।




