काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीहरू तीन महिनादेखि तलब नपाएपछि आन्दोलित बनेका छन्। स्थानीय तह कर्मचारी संघ, नेपालले महानगरमा प्रशासनिक नेतृत्वको अभाव र कर्मचारीलाई समयमै पारिश्रमिक नदिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै समस्या समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
प्रशासनिक नेतृत्वविहीनता र तलब समस्या
पछिल्लो तीन महिनादेखि महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाज अस्तव्यस्त भएको छ। करिब ४,००० कर्मचारीहरूले तलब नपाउँदा दैनिक जीवनयापनमा कठिनाइ भएको र कर्मचारीको कार्यसम्पादन मनोबल खस्किएको संघको आरोप छ।संघका अध्यक्ष नारायणप्रसाद शर्माले महानगर नेतृत्व समस्याको समाधान खोज्नका लागि गम्भीर बन्नुपर्नेमा उल्टै सामाजिक सञ्जालमा उच्छृंखल र उत्तेजक अभिव्यक्ति दिएर स्थिति जटिल बनाएको आरोप लगाए।
उनले भने, समस्या समाधानका लागि समन्वयात्मक रूपमा पहल गर्नुपर्ने समयमा उल्टै व्यक्तिगत अहंकार प्रदर्शन गरेर समस्या झन् बल्झाइँदै छ। संघले व्यक्तिगत आदेश र अनधिकृत हस्तक्षेपबाट प्रशासन सञ्चालन गर्न खोज्दा महानगरपालिकामा भय र त्रासको वातावरण सिर्जना भएको दाबी गरेको छ। कर्मचारीलाई भयरहित वातावरणमा काम गर्ने अवसर प्रदान गर्न र प्रशासनिक नेतृत्वलाई यथाशक्य छिटो कार्यालयमा उपस्थित गराउन संघले महानगर नेतृत्वसँग जोडदार माग गरेको छ।
स्थानीय तह कर्मचारी संघले कर्मचारीको पारिश्रमिक तत्काल उपलब्ध गराउन पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानका लागि कुनै पहल नभएको भन्दै एक हप्ताभित्र समस्या समाधान नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यदि एक हप्ताभित्र समस्या समाधान नभए, सम्पूर्ण पेशाकर्मीहरू एकत्रित भई महानगरवासीको हित र कर्मचारीको अधिकार सुनिश्चित गर्न कडा आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।
यस अवस्थामा उत्पन्न हुने कुनै पनि नकारात्मक परिणामको जिम्मेवारी महानगरपालिका नेतृत्वले लिनुपर्ने संघले स्पष्ट पारेको छ।




