देश

इटहरी आगलागी: ६ घण्टापछि पूर्ण नियन्त्रण, क्षतिको विवरण आउन बाँकी

इटहरी । इटहरीको सेन्टर प्लाजामा भएको आगलागी करिब ६ घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा आएको छ । बिहान ९ः३० बजे सुरु भएको आगलागी नियन्त्रणमा लिन विभिन्न स्थानीय तहका १२ दमकल र करिब तीन सय सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको जानकारी दिए । आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको र आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगलागीमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमध्ये बङ्गलादेशका एमडी जय, अमेरिका राई, लक्ष्मी श्रेष्ठ, विजय धामी, विष्णु तामाङ, सञ्जय जैसवाल, दिया राय, विशाल सिंह, आशिष चौधरी र अन्य दुई जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *