देश

आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तरराष्ट्रिय उडान

गण्डकी। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा पहिलो व्यावसायिक चार्टर्ड उडान सम्पन्न भएको छ । यस उडानसँगै पोखरा र छेन्दुबीचको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू आयोजना गरिएका थिए ।

पोखरा पर्यटन परिषद्को आयोजना तथा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनीज एसोसिएसनको सहकार्यमा भएको यो उडानले पोखराको पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको छ । पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यले सिचुवान एयरलाइन्सले चार्टर्ड उडान सुरु गरेको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो उडानका क्रममा चिनियाँ प्रतिनिधिमण्डलसँग भएका छलफल र बिटुबी, सेल्स मिसनहरूले आगामी दिनमा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने विश्वास जागेको बताए। उनले चिनियाँ प्रतिनिधिमण्डल नियमित उडानका लागि सक्रिय रूपमा लागेको पाएको र दुई देशबीचको पर्यटकीय साझेदारी बढाउने विषयमा महत्त्वपूर्ण छलफल भएको जानकारी दिए।

नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले यो उडानले पोखरालाई चीनसँग सीधा जोडेको र पोखरा चीनका धेरै सहरसँग मैत्रीपूर्ण सम्बन्ध भएको सहर भएको सन्देश पुगेको बताए। उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय बजारमा जानकारी गराएको पनि बताए।

चिनियाँ पर्यटन व्यवसायीका अनुसार, चीनमा जुन र जुलाईमा विद्यालय बन्द हुने समयमा अभिभावकहरू बालबच्चाहरूसँग भ्रमणमा निस्कने गर्छन्। उनीहरूको रोजाइमा छोटो दूरीका गन्तव्यहरू पर्ने भएकाले पोखरा उनीहरूका लागि नयाँ गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ।

आगामी तीन महिनामा करिब एक हजार २५० जना चिनियाँ पर्यटकलाई चीनको सिचुवान प्रदेशबाट सीधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउने प्रयास भइरहेको छ।

कार्यक्रमकै क्रममा पोखरा र लुझेउ सहरबीचको मितेरी सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियो। शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका क्षेत्रमा साझेदारी बढाउने विषयमा दुवै पक्ष सहमत भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *