काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापाविरुद्ध आवश्यक छानबिन र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न निकायमा पत्राचार गर्ने निर्णय गरेको छ।
एन्फाको नवौं कार्यसमिति बैठकको निर्णय
चैत ११ र १२ गते बसेको एन्फाको नवौं कार्यसमिति बैठकले फिफाको नियम उल्लंघन, भ्रष्टाचार आरोप र अन्य विवादास्पद गतिविधिका सम्बन्धमा छानबिन गर्न अख्तियार, नेपाल प्रहरी, फिफा, एएफसी (एसियाली फुटबल महासंघ) तथा संघका न्यायिक निकायमा पत्राचार गर्ने निर्णय गरेको हो।
एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार, संघमा प्राप्त गम्भीर उजुरीहरूबारे छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पत्राचार गर्ने निर्णय गरिएको छ। फिफाले १० वर्षे प्रतिबन्ध लगाएको थियो ।
फिफाको अनुशासन समितिले २०७२ मा गणेश थापालाई घुस लिएको र भ्रष्टाचारमा संलग्न रहेको ठहर गर्दै फुटबलसम्बन्धी सबै गतिविधिमा १० वर्षका लागि प्रतिबन्ध लगाएको थियो। साथै, थापालाई २१ लाख रुपैयाँ जरिवाना पनि तोकिएको थियो।
एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारीहरूविरुद्ध प्राप्त गम्भीर उजुरीबारे पनि सम्बन्धित निकायमा छानबिनका लागि पत्राचार गर्ने निर्णय गरेको छ। यस निर्णयसँगै एन्फाले संघभित्रको पारदर्शिता र सुशासन कायम गर्न कडा कदम चालेको संकेत गरेको छ।




