देश

कुलमानको बर्खास्ती: सरकार र प्राधिकरणबीच विवाद उत्कर्षमा

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको औपचारिक जानकारी दिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाइएको मंगलबार जानकारी दिएका हुन् ।

मन्त्रालयमा मंगलबार मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै गुरुङले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाइएको जानकारी दिएका हुन् ।

प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर ललितपुरका हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको जानकारी पनि मन्त्री गुरुङले दिए ।

कार्यकारी निर्देशक घिसिङलाई सरकारले पटक-पटक स्पष्टीकरण सोध्दै आएको थियो । ऊर्जामन्त्री दीपक खड्काले घिसिङले सरकारलाई नटेरेको भन्दै बयान दिँदै आएका थिए । कुलमानले भने आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उल्टै सरकारलाई प्रश्न गरेका थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साउन २६ मा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । अहिले भने कुलमानको कार्यकाल चार महिना मात्रै बाँकी रहँदा सरकारले बर्खास्त गरेको हो ।

त्यस्तै सरकारले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सिफारिस गर्नका लागि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलेको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ । समितिको सदस्यमा पूर्व गर्भनर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा.विश्व पौडेल सदस्य रहेका छन् ।

त्यस्तै बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको छ ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *