काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित बोडे निलबाराही पिकनिक स्थल नजिकको पार्किङ स्थलमा ६६ वर्षीय ओमप्रकाश राईको हत्या भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा ५७ वर्षीय हिमाल बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ।
डीएसपी ढुण्डिराज नेउपानेका अनुसार हिमाललाई हत्या आरोपमा पक्राउ गरिएको हो। “आजै उनलाई सार्वजनिक गर्ने तयारी छ।”
अनुसन्धानका अनुसार, ओमप्रकाश र हिमाल बीच १०० रुपैयाँको विवाद हुँदा, हिमालले ढुंगा प्रहार गरी ओमप्रकाशको हत्या गरेका थिए। आरोपितले प्रहरीसँग भनेका छन् कि ‘१०० रुपैयाँ ओमप्रकाशले खोसेर लगेको र त्यही विवादमा ढुंगाले हानेर हत्या गरेको हुँ’
घटना शनिबार राति १२ बजे आसपासको भएको बताइएको छ। शव पिकनिक स्थल नजिकै रक्तरञ्जित अवस्थामा भेटिएको थियो। मृतकको दाहिने कानको लोती चुडिएको थियो र टाउकोमा गम्भीर चोट रहेका थिए। घटनास्थल नजिकै एक ढुंगा पनि फेला परेको थियो। शवसँगै एक बोरामा कवाडीका सामानहरु र केही अन्य सामग्री थिए। मृतकका छोरासमेत शवको पहिचान गर्न घटनास्थल पुगेका थिए।
प्रहरी अनुसन्धानका अनुसार, ओमप्रकाश र हिमाल दुबै जना कवाडी संकलक थिए। उनीहरुले शनिबार साँझ मदिरा सेवन गरेका थिए र पछि निलबाराही पिकनिकस्थल पुगेका थिए। राति १०० रुपैयाँको विवादपछि हत्या भएको बताइएको छ।
प्रहरी अब आरोपीलाई सार्वजनिक गर्ने तयारीमा छ।




