देश

बाढीपहिरो पीडित अझै राहतको पर्खाइमा, स्थानीय तहको आलटाल

काभ्रेपलाञ्चोक। गत असोजमा गएको बाढीपहिरोबाट विस्थापित भएका काभ्रेपलाञ्चोकका पीडितहरूले अझैसम्म सरकारी राहत पाउन सकेका छैनन्। स्थानीय तहले समयमै प्रभावितहरूको तथ्याङ्क नपठाउँदा पीडितहरू राहतबाट वञ्चित भएका हुन्।

जिल्लास्थित विपद् व्यवस्थापन समितिले पटकपटक ताकेता गर्दा पनि पाँचवटा स्थानीय तहले अझै तथ्याङ्क पठाएका छैनन्। पीडितहरूलाई राहत दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् ‘पोर्टल’मा तथ्याङ्क अनिवार्य प्रविष्ट गर्नुपर्ने हुन्छ। तर, बनेपा, पनौती, तेमाल, भुम्लु र मण्डनदेउपुरले अहिलेसम्म विवरण बुझाएका छैनन्।

जिल्ला प्रशासन कार्यालयले नमोबुद्ध, बेथानचोक र महाभारत गाउँपालिकाका पीडितहरूलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई निकासा माग गरेको छ। तर, तीन हप्तासम्म पनि मन्त्रालयले रकम निकासा गरेको छैन।

धुलिखेल, रोशी, चौरीदेउराली, खानीखोला र पाँचखालले पनि पीडितहरूको विवरण पठाएका छन्। तर, स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय नभएकाले मन्त्रालयमा रकम माग गर्न नमिल्ने जनाइएको छ।

स्थानीय तहको आलटालका कारण पीडितहरूले राहत पाउन ढिलाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

गत असोजको बाढीपहिरोमा काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ६ जना अझै बेपत्ता छन्। प्रारम्भिक विवरणअनुसार जिल्लामा दुई हजार ८४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *