
काठमाडौँ। आज मार्च २४ तारिख, विश्व क्षयरोग दिवस। हरेक वर्ष यो दिन क्षयरोगविरुद्ध जनचेतना जगाउन र उपचारको सहज पहुँच बढाउन विभिन्न कार्यक्रम आयोजना गरिन्छ। यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ तय गरिएको छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दैछ। केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले क्षयरोग जनस्वास्थ्य समस्या रहेको र सन् २०२३ मा नेपालमा ६८ हजार नयाँ क्षयरोगी थपिएको जानकारी दिए। त्यसैगरी, १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ।
सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्तिलाई उपचारका लागि दर्ता गरेको थियो। औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए। उपचार सफलता दर ९२ प्रतिशत छ। तर, अनुमानित क्षयरोग प्रभावित व्यक्ति र उपचारको दायरामा आएका व्यक्तिको सङ्ख्यामा ठूलो अन्तर छ। करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन।
स्रोतको अभाव र क्षयरोगको कारण रोगीको परिवारमा पर्ने आर्थिक भारले पनि समस्या थपिएको छ। रोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य हुन नसक्दा थप प्रगति हासिल हुन नसकेको केन्द्रले जनाएको छ।
केन्द्रले उपचार सेवा विस्तार, द्रुत परीक्षण सेवाको पहुँच बढाउने, औषधि प्रतिरोधी क्षयरोगको उपचारका लागि नयाँ विधि लागू गर्ने र स्थानीय तहको नेतृत्वमा क्षयरोग मुक्त नेपाल अभियान विस्तार गर्ने लगायतका प्रयास गरिरहेको छ।
सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्य राखिएको छ।
लगातार तीन हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भएमा, अकास्मात तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्य चौकीमा गएर परीक्षण गर्नुपर्ने सुझाव दिइएको छ। यस रोगको निःशुल्क उपचारको व्यवस्था रहेको छ।