
गोरखा। गोरखामा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा एक सय ३३ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार साउनदेखि फागुनसम्मको अवधिमा जिल्लाका ११ वटै पालिकामा गरी सो सङ्ख्यामा क्षयरोगी फेला परेका हुन्।
सूचना अधिकारी नवराज खड्काका अनुसार ७८ पुरुष र ५५ महिलामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ। सबैभन्दा बढी बारपाक सुलिकोट गाउँपालिकामा २६ जनामा सङ्क्रमण देखिएको छ। भीमसेनथापा गाउँपालिकामा २५, गोरखा नगरपालिकामा २१ र पालुङटार नगरपालिकामा १९ जनामा क्षयरोग पुष्टि भएको छ।
यस्तै, आरुघाट गाउँपालिकामा १४, सहिद लखन गाउँपालिकामा ९, अजिरकोट गाउँपालिकामा ५, धार्चे गाउँपालिकामा ५, सिरानचोक गाउँपालिकामा ४, गण्डकी गाउँपालिकामा ३ र चुमनुब्री गाउँपालिकामा दुई जनामा क्षयरोग देखिएको सूचना अधिकारी खड्काले बताए।
गत आर्थिक वर्षमा जिल्लामा २३२ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको थियो।