काठमाडौं। नेपालमा सञ्चालित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को परियोजनाले निरन्तरता पाउने भएको छ। परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार अमेरिकाले यससम्बन्धी सूचना जारी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा रोकिएको करिब ५५ करोड डलर (करिब साढे ७५ अर्ब रुपैयाँ) अनुदान सहयोगको कम्प्याक्ट परियोजना अब निरन्तर हुने भएको हो।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा वरिष्ठ निर्देशक रिकी गिललाई नयाँ दिल्लीमा भेटेर एमसीसी परियोजनालाई निरन्तरता दिन आग्रह गरेकी थिइन्।
भारतको विदेश मन्त्रालयले आयोजना गरेको राइसिना डायलग कार्यक्रममा सहभागी गिलसँग मन्त्री डा. राणाले चैत ५ गते भेटवार्ता गरेकी थिइन्। उनले नेपाललाई सहयोग पुग्ने सडक एवं जलविद्युत् पूर्वाधार परियोजनाका रूपमा सुरु भएको एमसीसी परियोजनाको निर्माण रोकिन पुगेकाले यसलाई निरन्तरता दिन आग्रह गरेकी थिइन्।
सो आग्रहमा सुरक्षा निर्देशक गिलले यस विषयमा पुनर्विचारका लागि प्रक्रिया सुरु गर्ने बताएका थिए। उनले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिने आश्वासन दिएका थिए। सोही अनुरूप अमेरिकी सरकारले शनिबार परियोजनालाई निरन्तरता दिने सूचना जारी गरेको हो।
अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशका कारण एमसीसीले भुक्तानी रोक्ने जानकारी फागुन २ गते नेपाल सरकारलाई दिएपछि परियोजना अन्योलमा परेको थियो। तर, पछिल्लो निर्णयसँगै अब यो परियोजनाले निरन्तरता पाउने भएको छ।




