
पर्सा। वीरगञ्जको प्रमुख सडकको सीमाङ्कन गर्न नापी कार्यालय पर्सालाई सडक डिभिजन हेटौँडाले पत्राचार गरेको छ। सर्वोच्च अदालतले सडक विस्तारविरुद्धको रिट खारेज गरेसँगै सडक डिभिजनले सडकको सीमाङ्कन गर्न लागेको हो।
सडक डिभिजन हेटौँडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डकचोक–पावरहाउस–घण्टाघर–विर्ता–रजतजयन्तीचोक–मितेरी पुलसम्मको सडकमा २५/२५ मिटरको सीमाक्षेत्र सीमाङ्कन गर्नुपर्ने भएकाले नापी कार्यालय पर्सालाई पत्राचार गरिएको बताएका छन्।
उनले सर्वोच्च अदालतको पूर्णपाठ आउनुअगावै सडक विस्तार हुँदा प्रभावित हुने घर, टहराको विवरण सङ्कलन गर्न सीमाङ्कनका लागि अनुरोध गरिएको बताए। सर्वोच्च अदालतको पूर्णपाठ आएपछि मात्रै सडक विस्तार अघि बढ्ने काम सुरु हुने उनले बताए।
सडकको सीमाङ्कनका लागि तीन महिनाको अवधि लाग्नसक्ने अनुमान गरिएको छ। वीरगञ्ज महानगर–९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले सडक विस्तार गर्न नहुने भन्दै वीरगञ्ज बचाऊ सङ्घर्ष समितिको नेतृत्व गरिरहेका छन्। उनले वीरगञ्जको पुरानो तथा ऐतिहासिक मेडरोड (प्रमुख मार्ग) को बजार हटाएर जनतालाई विस्थापित गर्न नहुने धारणा राखेका छन्।
वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह भने सडक विस्तार गर्नुपर्ने पक्षमा छन्। सर्वोच्च अदालतले रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई वीरगञ्जको प्रमुख मार्गको दायाँबायाँ २५–२५ मिटर चौडा गर्ने बाटो खुलेको छ।