घोराही। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई दिगो र प्रभावकारी बनाउन नागरिकको योगदानमा आधारित प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताएका छन्। नेपाली कांग्रेस दाङले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले मात्रै लगानी गरेर बिमा सेवालाई निरन्तरता दिन नसक्ने अवस्था रहेको स्पष्ट पारे।
मन्त्री पौडेलले स्वास्थ्य बिमाको खर्च बढ्दै गएको र वर्तमान अवस्थामा सरकारको लगानीले मात्र धान्न नसक्ने बताए। उनले सूर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत र सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीको दुई प्रतिशत योगदानले बिमा प्रणालीलाई सहज बनाउन सकिने धारणा राखे।
बिमाको रकम भुक्तानीमा देखिएको बेथिति सुधार गर्नुपर्नेमा जोड दिँदै उनले गलत दाबी गर्नेलाई कारबाही गर्ने चेतावनी दिए। उनले स्वास्थ्य बिमाको रकम पाँच लाख रुपैयाँ पुर्याउने योजना रहेको र यसमा नागरिकको सहभागिता आवश्यक रहेको बताए।
मन्त्री पौडेलले नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भएको भन्दै अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताए। सरकारी अस्पतालको भौतिक सुधार, उपकरण र जनशक्ति व्यवस्थापन आफ्नो प्राथमिकता रहेको र बिरामीलाई बाहिर रिफर गर्ने अस्पताललाई कारबाही गर्ने उनले बताए।
वर्तमान सरकारले जनतालाई परिवर्तनको अनुभूति गराउन नसके आगामी निर्वाचनमा अप्ठ्यारो पर्ने उनले बताए। उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारले जनताको चाहना अनुसार काम गर्नुपर्नेमा जोड दिए।




