जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दी चोक र नवलपुरचोकमा रहेका २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा ती संस्थाहरूमा देखिएका अनियमितताका कारण १९ अस्पताललाई तत्काल बन्द गर्ने निर्देशन जारी गरिएको हो । यी अस्पतालहरू सेवा सञ्चालन अनुमतिपत्र बिना वा मापदण्ड विपरीत सेवा दिइरहेको पुष्टि भएपछि यो कडा कदम उठाइएको मुख्यमन्त्री सिंहले बताए ।
मुख्यमन्त्री सिंहले राज्यमा स्वास्थ्य सेवा सञ्चालन गर्दा मापदण्डको पूर्ण पालना अनिवार्य भएको बताए । उनका अनुसार स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरवाहीलाई कुनै पनिहालतमा स्वीकार गर्न सकिने छैन ।
सिंहले भने, ‘जनताको स्वास्थ्यप्रति हामी कुनै प्रकारको सम्झौता गर्न सक्दैनौं । मापदण्ड उल्लंघन गर्दै सेवा सञ्चालन गर्नु गम्भीर अपराध हो । त्यसैले यस्ता अस्पताललाई तुरुन्त बन्द गर्ने निर्देशन दिएका छौं ।’
अनुगमनका क्रममा जम्मा दुईवटा स्वास्थ्य संस्थासँग मात्रै सेवा सञ्चालन अनुमतिपत्र दुरूस्त रहेको पाइयो भने थप दुईवटाले नवीकरण गर्नुपर्ने अवस्था देखियो । यी स्वास्थ्य संस्थाहरूलाई अबिलम्ब आवश्यक कागजात मिलाउन निर्देशन दिइएको छ ।




