देश

एसईई परीक्षामा अनियमितता, चार निरीक्षक जिम्मेवारीमुक्त

पर्सा। पर्सा जिल्लामा जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनियमितता भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले परीक्षाको मर्यादाविपरीत कार्य गरेको आरोपमा चार जना निरीक्षकलाई जिम्मेवारीबाट हटाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको एसईई परीक्षा समन्वय समितिको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो। परीक्षाको निष्पक्षता र मर्यादा कायम राख्न कडाइका साथ अनुगमन गरिएको र सोही क्रममा उनीहरुलाई हटाइएको प्रशासनले जनाएको छ।

हटाइएका निरीक्षकहरु विभिन्न परीक्षा केन्द्रमा खटिएका शिक्षकहरु हुन्। उनीहरुमाथि परीक्षाको मर्यादा र अनुशासन पालना नगरेको, अनधिकृत व्यक्तिको प्रवेशमा सहयोग पुर्‍याएको, प्रश्नपत्र वितरणमा लापरबाही गरेको र परीक्षाको गोपनीयता कायम राख्न नसकेको आरोप छ।

बैठकले माइस्थान विद्यापीठ माध्यमिक विद्यालय वीरगञ्जका केन्द्राध्यक्ष मुनिलाल कर्णलाई सचेत गराएको छ भने सोही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफलाई परीक्षा अवधिभर प्रवेश निषेध गरेको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानी र निचुटा केन्द्रका केन्द्राध्यक्षलाई लिखित रुपमा ध्यानाकर्षण गराइएको छ। सिद्धार्थ माध्यमिक विद्यालय चिनी कारखाना वीरगञ्जका दुई निरीक्षकलाई पनि हटाइएको छ। सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय वीरगञ्जमा प्रश्नपत्र वितरणमा भएको त्रुटि सुधार गर्न निर्देशन दिइएको छ।

परीक्षा केन्द्रहरुमा प्रश्नपत्र परीक्षा समयभन्दा २० मिनेट अगाडि मात्र खोल्ने व्यवस्था मिलाउन र स्थानीय तहको शिक्षा शाखाका पदाधिकारीलाई परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ। प्रशासनले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन थप कडाइका साथ अनुगमन गर्ने जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *