
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले देशमा राजतन्त्र नफर्कने बताएका छन्। आज (शनिबार) जनकपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन् ।
देशमा राजा र राणातन्त्र फर्कन सम्भव नरहेको उनले उल्लेख गरे । ‘नेपालमा राजतन्त्र फर्कियो, फर्कियो, फर्कियो, नेपालमा राजशाही आयो, आयो, आयो भन्छन् । सबै बोलिरहेका छन्’, उनले भने, ‘तर, नेपालमा म भन्छु– नेपालमा राजतन्त्र, राणाशाही आउँदैन, आउँदैन, आउँदैन । मानिसहरू जति कराए पनि अब आउनेवाला छैन ।’
अरू देशमा राजतन्त्रको अन्त्य हुँदा कस्तो दुर्गति भएको छ भन्ने ख्याल गरेर आफ्नो सीमालाई तत्कालीन राजाले बुझ्नुपर्नेमा उनले जोड दिए । ‘अरू देशमा राजतन्त्रको अन्त्य हुँदा राजाहरूको कस्तो दुर्गति भएको छ नमान्दाखेरि, त्यो इतिहासमा प्रमाणित छ’, उनले भने, ‘त्यसैले आफ्नो सीमालाई राजाले बुझ्नुपर्यो, तत्कालीन राजाले ।’
उनले राजतन्त्र अस्वीकृत भइसकेको बताए । नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको उनले उल्लेख गरे । ‘राजा अपदस्त भइसकेको मात्रै होइन, अस्वीकृत भइसकेको छ । नेपालमा राजतन्त्र समाप्त भइसकेको छ’, उनले भने, ‘नेपालमा जनताद्वारा निर्वाचित सार्वभौम संसद्द्वारा राजतन्त्र अस्वीकृत भइसकेको छ । रिजेक्टेड भइसकेको छ । र, ज्ञानेन्द्र अन्तिम राजा हो ।’
गणतन्त्रको जग बलियो भएकाले कसैले हल्लाउन नसक्ने उनको भनाइ थियो । ‘गणतन्त्र आइसकेपछि हाम्रै जिल्लाको डा. रामवरण यादव प्रथम राष्ट्रपति हो गणतन्त्रको । कसरी गणतन्त्र आएको हो त्यो बुझ्नुपर्छ’, उनले भने, ‘यसको जग बलियो छ, यो जगलाई कसैले हल्लाउन सक्दैन ।’ सांसद निधिले देशको मालिक जनता भएको बताए । व्यक्ति देशको मालिक बन्न नसक्नेमा उनले जोड दिए । उनले सार्वभौमसत्ता अब जनतामा निहित रहेको उल्लेख गरे ।