देश

कविता देश र संसार बुझ्ने प्रभावशाली माध्यम : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै यसको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड दिएकी छन्।

मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित कवि तीर्थ श्रेष्ठको एकल कवितावाचन कार्यक्रममा बोल्दै उनले कविताले समाजको यथार्थ चित्रण गर्ने बताइन्। पहिलो पटक एकल कवितावाचन कार्यक्रममा सहभागी हुन पाएको अनुभव व्यक्त गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन्।

“समाजलाई यथार्थ कुरा जानकारी गराउने विभिन्न माध्यम हुन्छन्, कविता एउटा यस्तो प्रभावशाली माध्यम हो, जसबाट एकैछिनमा देश र संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ,” उनले भनिन्, “धेरै आयोजक हुनुहुन्छ, जिल्लादेखि केन्द्र र अन्तर्राष्ट्रिय क्षेत्रमा यस्ता कार्यक्रम गर्न सबैले आआफ्नो तर्फबाट प्रयासलाई निरन्तरता दिनुपर्छ।”

कवि श्रेष्ठले नेपाली जनजीवनमा गर्न सक्ने काम लेखनमार्फत गर्ने प्रतिबद्धता व्यक्त गरे। फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कवि श्रेष्ठको साहित्य रचनाले नेपाली साहित्य र भाषा अध्ययनमा सहयोग पुग्ने बताइन्। उनले राष्ट्रियताको सोच र चिन्तनलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *