
काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वास गर्ने अवस्था नरहेको बताएका छन्।
नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको नवौँ वार्षिक साधारणसभामा उनले कृषिलाई यान्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता भए पनि उपकरणको गुणस्तरमा शङ्का रहेको बताए। किसानले महँगोमा किनेका उपकरण बर्सेनि मर्मतमा धेरै खर्च गर्नुपरेको भन्दै उनले यस्तो अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए।
“कृषि यान्त्रीकरणको प्रवर्द्धनमा व्यवसायीको भूमिका महत्त्वपूर्ण छ। यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न आवश्यक छ। त्यो अवस्था नबन्दासम्म किसानले पनि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर मात्रै खरिद गर्न आवश्यक छ,” मन्त्री अधिकारीले भने।
मन्त्री अधिकारीले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषिप्रणाली सुनिश्चित गर्न यान्त्रीकरणलाई प्राथमिकता दिँदै सरकार अघि बढिरहेको बताए। आधुनिक कृषि यन्त्र तथा उपकरणमा अनुदानका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भएको उल्लेख गर्दै उनले यसलाई अझ प्रभावकारी बनाउन सरोकार भएका पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको बताए।