खोटाङ। खोटाङमा भएका बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु भएको छ। केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनमा चट्याङ लागेर ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको छ भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीमा २१ महिने शिशु अनुसोया पोखरेलको बार्दलीबाट लडेर ज्यान गएको छ।
आज बिहान ४ः०० बजे दिलकुमारी राईलाई चट्याङ लागेको थियो, जसले गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो।
यसैगरी, घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी २१ महिने शिशु अनुसोया पोखरेललाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।




