
सुर्खेत । नेपाली सेना कल्याणकारी बोर्डको आयोजनामा उत्तरपश्चिम पृतना सुर्खेतमा दोस्रो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन–२०८१’ सम्पन्न भएको छ। सम्मेलनमा सुर्खेतसँगै नेपालगञ्ज, दैलेख, कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला उपकेन्द्रबाट भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागिता थियो।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले भूतपूर्व सैनिक सम्मेलन नेपाली सेनाबाट अवकाशप्राप्त सैनिकहरूको पुनर्मिलन कार्यक्रम भएको बताए। उनले अवकाशप्राप्त सैनिक तथा परिवारजनसँगको भेटघाट र अन्तरक्रियाले भावनात्मक सम्बन्ध बलियो बनाउनुका साथै संस्थागत प्रयासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे।
प्रधानसेनापति सिग्देलले कल्याणकारी कोषको मितव्ययी र पारदर्शी प्रयोगबाट कोषलाई दिगो र सेवा सुविधालाई निरन्तरता दिने योजना रहेको बताए। उनले स्रोतको सीमितताका बाबजुद हिताधिकारीका राय सुझावलाई चरणबद्ध रूपमा सम्बोधन गर्दै जाने जानकारी दिए।
नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कल्याणकारी कोषको रकमलाई आयमूलक क्षेत्रमा लगानी गर्न, कल्याणकारी कार्यलाई दिगो बनाउन र सेवा सुविधालाई विस्तार गर्ने प्रयास भइरहेको बताए। उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट ठूलो संख्यामा भूतपूर्व सैनिक लाभान्वित भएको जानकारी दिए।
सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक सम्मान, उत्कृष्ट उद्यमी/व्यवसायीलाई पुरस्कार, चार वा सोभन्दा बढी सन्तति नेपाली सेनामा रहेका अभिभावकलाई सम्मान, फरक क्षमता भएकालाई ह्वीलचेयर तथा आर्थिक सहयोग वितरण र सहुलियतपूर्ण कर्जाको चेक हस्तान्तरण गरिएको थियो। सम्मेलनमा भूतपूर्व सैनिकले मार्चपाष्टलगायत सांस्कृतिक झाँकी र सैनिक ब्यान्ड प्रस्तुत गरेका थिए। यसअघि बिहीबार सुदूरपश्चिम पृतनाअन्तर्गत पहिलो चरणको भूतपूर्व सैनिक सम्मेलन धनगढीमा सम्पन्न भएको थियो।