
काठमाडौं। जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा भोलिदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ सुरु हुने भएको छ। जलस्रोतको दिगो व्यवस्थापन, संरक्षण र उपयोगका विषयमा राष्ट्रिय बहस चलाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
पत्रकार सम्मेलनमा आयोगका सचिव मधुप्रसाद भेटुवालले सरकारले पानीलाई उच्च प्राथमिकतामा राखेर विभिन्न गुरुयोजना निर्माण गरिरहेको बताए। उनले २१ वटा हिमताल विस्फोटको जोखिममा रहेको र त्यसलाई संरक्षण गर्न आयोग लागिरहेको जानकारी दिए। पानीको उचित प्रयोगका लागि राष्ट्रिय जलस्रोत नीति, २०७७ ल्याइएको र जलस्रोत विधेयक संसद्मा विचाराधीन अवस्थामा रहेको उनले बताए।
राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घका अध्यक्ष शम्भुप्रसाद दुलालले पानीसम्बन्धी सरकारका नीति तथा कार्यक्रमलाई व्यवस्थित बनाएर पानीको उपयोगका लागि महासङ्घले काम गर्दै आएको बताए। उनले जलवायु परिवर्तनको प्रभावले हिमतालहरू विस्फोटबाट क्षति हुने गरेको र त्यसको व्यावहारिक समाधानका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने बताए।
जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा विसं २०६५ सालदेखि जल तथा मौसम सप्ताह मनाउँदै आए पनि यो वर्षदेखि ‘नेपाल राष्ट्रिय हिमनदी जल तथा मौसम सप्ताह’ मनाउन थालिएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता कलानिधि पौड्यालले दुई दिनसम्म चल्ने सम्मेलनमा पानीको बहुउपयोग, यसको महत्व, स्रोत संरक्षण, दिगो उपयोगका लागि गरिएका असल अभ्यास एवं चुनौतीलगायत विषयमा गहन छलफल हुने बताए। सम्मेलनमा एकीकृत जलस्रोत व्यवस्थापन, जल सुशासन, खानेपानी, सरसफाइ, जलविद्युत्, सिँचाइजस्ता क्षेत्रमा जलस्रोतको उपयोगमा रहेका चुनौती र सिकाइका असल अभ्यास तथा पानी सम्बद्ध विविध विषयमा प्रस्तुतीकरण र नीतिगत छलफल हुनेछन्। सम्मेलनमा १० ‘सेसन’मा विधागत छलफल हुनेछन्।