
लुम्बिनी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएका छन्। दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तरर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लुम्बिनी विश्वभरका शान्तिप्रिय नागरिकको पवित्रस्थल भएको बताए।
मन्त्री पाण्डेले विश्वव्यापी रुपमा लुम्बिनीबाट शान्ति, एकता, सद्भाव र मानवताको सन्देश दिन सकिने बताए। विश्वसम्पदा सूचीमा रहेको लुम्बिनीको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको उनले जानकारी दिए। नेपालले संस्कृती, आध्यात्मिक र साहसी पर्यटनबाट लाभ लिन सक्ने उल्लेख गर्दै उनले यसको प्रमुख गन्तव्य लुम्बिनी हुने बताए।
लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देवदह र रामग्रामलाई विश्व शान्ति सहर बनाउनुपर्नेमा जोड दिए। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी बुद्धको ध्यानका लागि विश्वकै उत्कृष्टस्थल रहेको बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले लुम्बिनीमा भएको शान्ति महोत्सवले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन लुम्बिनीमा महोत्सव आयोजना गरेको बताए।
सम्मेलन उद्घाटनका अवसरमा मायादेवी मन्दिर उद्यानमा ध्यान गराइएको थियो। शनिबार म्याराथन कार्यक्रम राखिएको छ। चिनियाँ दूतावाससँगको सहकार्यमा बिहीबारदेखि महोत्सव सुरु भएको हो।