देश

कैलालीको जंगलमा विदेशी नागरिकको अवैध बसोबास, प्रशासनको तत्काल हट्न निर्देशन

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना १०० भन्दा बढी विदेशी नागरिक बसेको खुलेको छ।

जिल्ला प्रशासन कार्यालय, कैलालीले बिहीबार २४ घण्टाभित्र क्षेत्र खाली गर्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार भारत, अमेरिका, चीन लगायत विभिन्न देशका नागरिक ‘रेन्बो फेमिली ग्यादरिङ’ नाम दिएर समूहमा आएका थिए। तर, कुनै आधिकारिक अनुमति नलिई बसोबास गरिरहेको पाइएपछि प्रशासनले तत्काल हट्न निर्देशन दिएको हो।

स्थानीयवासीले ती विदेशी नागरिकहरू अर्धनग्न भएर हिँड्ने, अस्वाभाविक गतिविधि गर्ने जस्ता गुनासो गरेपछि जिल्ला सुरक्षा समितिका अधिकारीहरू समेत अनुगमनमा पुगेका थिए। प्रशासनका अनुसार शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने कुनै गतिविधि भेटिएको छैन, तर कानुनी प्रक्रिया नपुर्याएकाले बस्न नदिने निर्णय गरिएको हो।

अनुगमनका क्रममा ती विदेशी नागरिकहरूले आफूहरू प्रकृति प्रेमी रहेको बताउँदै विभिन्न प्राकृतिक क्षेत्रमा बस्ने गरेको बताएका थिए। यस्तै समूह केही महिनाअघि अछामको रामारोशन क्षेत्रमा पनि पुगेको थियो, जहाँ प्रशासनको हस्तक्षेपपछि उनीहरू हटेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *