काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको दिगो समाधानका लागि ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको बताएका छन्। राष्ट्रियसभाको बैठकमा सांसद भुवनबहादुर सुनारको प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन्।
मन्त्री यादवले सुनकोशी र राप्ती खोला डाइभर्सन गरी थोक वितरण प्रणालीमार्फत खानेपानी व्यवस्थापन गर्नेलगायत ठूला जलाशययुक्त खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन कार्य अघि बढाइएको बताए। उनले सुक्खा मौसममा तराई-मधेसमा चापाकल र नदीनाला सुकेर पानीको हाहाकार हुन सक्ने समस्या समाधानका लागि डिप ट्युवेलबाट आयोजना सञ्चालन गरी खानेपानी आपूर्ति बढाउने योजना रहेको जानकारी दिए।
तराई-मधेसका जिल्लामा भूमिगत पानीको सतह घट्दै गएको हुँदा तत्काल समस्या समाधान गर्न डिप बोरिङका आयोजनाहरू सुरु भइरहेको उनले बताए। लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेका ओभरहेड ट्याङ्कीसहित २८० खानेपानी आयोजना प्रदेश र स्थानीय तहसँग समन्वय गरी आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याउने गरी बजेटको तयारी भइरहेको उनको भनाइ छ।
मन्त्री यादवले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा पानीका स्रोत/मुहानहरूलाई पुनर्जीवित गराउन अध्ययन-अनुसन्धान र मुहान संरक्षण कार्य सुरु गर्ने योजना रहेको जानकारी दिए। सुरक्षित खानेपानीको सुनिश्चितताका लागि प्रत्येक खानेपानी प्रणालीमा ‘क्लोरिनेसन युनिट’ जडान कार्य अघि बढाइएको उनले बताए।




