काठमाडौं। सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको घटनाको समन्यायिक समाज नेपालले कडा निन्दा गरेको छ। समाजले दोषीलाई कारबाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ।
समाजका अध्यक्ष भक्त विश्वकर्माले दलित समुदायको घर भत्काइएको र उनीहरूलाई विस्थापित गरिएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। विज्ञप्तिमा जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन, २०६८ र अन्य कानुनी प्रावधानहरूको कडाइपूर्वक कार्यान्वयन गरी दोषीलाई कडा कारबाही र पीडितलाई न्याय दिन सरकारसँग माग गरिएको छ।
“यही चैत १७ गतेदेखि सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि दीपक मरिक (डोम) को घर भत्काइएको छ, जसकारण पीडित परिवार अहिले विस्थापित भएको छ। पीडित परिवारको भनाइअनुसार दलित भएकै कारण डोम समुदायको घर भएको स्थानको माटोसमेत खनेर फालिएको छ,” विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा महायज्ञ सञ्चालन गरिरहेका बजरङ्गी बाबाले दलित परिवार त्यहाँ रहे महायज्ञ नहुने अडान लिएपछि स्थानीय पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवको मिलेमतोमा घर भत्काइएको आरोप लगाइएको छ।
नेपाललाई छुवाछुत मुक्त घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि जनप्रतिनिधिहरू नै यस्ता विभेदकारी कार्यमा संलग्न हुनु जघन्य अपराध भएको समाजको ठहर छ।
“दैनिक रूपमा दलित समुदाय जातीय छुवाछुत र विभेदको सिकार बनिरहे पनि धेरै घटना बाहिर आउन सकेका छैनन्। पीडितहरू अन्याय सहन बाध्य छन्। सबैलाई धर्म मान्ने अधिकार छ तर धर्मका नाममा उठिबास लगाउनु निन्दनीय एवं दण्डनीय हो,” विज्ञप्तिमा भनिएको छ।




