देश

डिजिटल युगमा पछि पर्नु हुँदैन: परराष्ट्रमन्त्री डा. आरजु राणा

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान युगमा डिजिटल प्रविधिको द्रुत विकास भइरहेकाले यसलाई पछ्याउनुपर्ने बताएकी छिन्। नयाँ दिल्लीमा जारी राइसिना डायलग कार्यक्रममा बोल्दै उनले नेपाल डिजिटल सार्वजनिक पूर्वाधार निर्माणलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताइन्।

उनले सबैका लागि लाभदायक, सुरक्षित र समावेशी डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताइन्। डिजिटल सार्वजनिक पूर्वाधारले मानिसहरूबीचको डिजिटल डिभाइड कम गर्न र समुदायहरूलाई सशक्त बनाउन सहयोग गर्ने उनको भनाइ थियो।

मन्त्री राणाले नेपाल पनि डिजिटल यात्राको योजनामा रहेको र सार्वजनिक सेवाहरूको डिजिटल डेलिभरीमा सुधार भइरहेको जानकारी दिइन्। नेपालले विद्युतीय सुशासनका कार्यक्रमहरू सञ्चालन गरिरहेको र व्यक्तिगत डेटा संरक्षण ऐन लागू गर्ने प्रक्रियामा रहेको उनले बताइन्।

उनले डिजिटल साक्षरता र सीप विकासलाई सरकारले प्राथमिकतामा राखेको र विद्यालय, विश्वविद्यालय र व्यावसायिक क्षेत्रहरूमा डिजिटल साक्षरता कार्यक्रमहरू सञ्चालन गरिने बताइन्। भारतले आधार र युपिआई जस्ता डिजिटल प्रणालीहरू निर्माणमा आफ्नो अनुभव सेयर गरेर विकासशील देशहरूलाई सहयोग गर्न सक्ने उनको भनाइ थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *