देश

बाढीपीडितलाई आवासको व्यवस्था गरिने, सरकारको प्रतिबद्धता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गत असोजको बाढीबाट प्रभावित भएका वाग्मती तथा कोशी प्रदेशलगायत स्थानका सर्वसाधारणलाई आवासको व्यवस्था गरिने बताएका छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकपछि उनले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विश्लेषण गरी आवश्यकतानुसार स्थायी तथा अस्थायी आवास निर्माण गरिने जानकारी दिए।

उनले निजी आवास निर्माणमा राज्यले कसरी सहयोग गर्न सक्छ भन्ने निर्णय प्रभावित क्षेत्रको वस्तुस्थितिका आधारमा गरिने बताए। बैठकमा आगामी दिनमा विपद्बाट हुनसक्ने जोखिम नियन्त्रणका लागि पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिइएको छ।

डोटी, अछाम र जाजरकोटमा भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन गरी पीडितलाई सहयोग तथा पुनर्निर्माणका काममा समन्वय गर्न ती जिल्लामा कार्यालय स्थापना गरेको मन्त्री लेखकले बताए। क्षति विश्लेषण भएका स्थानमा स्थायी आवास निर्माण सुरु भएको उनले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *