
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मातृशिशुको स्वास्थ्य अवस्था सुधार गर्न सरकारले सङ्घ, प्रदेश र स्थानीय तहका अस्पताल एवं स्वास्थ्य संस्थाहरूबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले लुम्बिनी प्रदेशमा सुविधासम्पन्न ‘बर्थिङ’ अस्पताल निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए।
उनले लुम्बिनी क्षेत्रको विकासका लागि गुरुयोजनाअनुसार निर्माण कार्य भइरहेको र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले विभिन्न सहुलियत तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याएको बताए।
प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई प्रोत्साहन गर्न धान, गहुँ र उखु बालीको न्यूनतम समर्थन मूल्य तोक्ने गरिएको र कृषि आधुनिकीकरण परियोजनालाई थप परिमार्जनसहित अघि बढाउन गृहकार्य भइरहेको जानकारी दिए। उनले निर्यात–आयात अनुपातमा सुधार भएको र मोरङ तथा सुनसरीका नदीमा आउने बाढी नियन्त्रणका लागि अध्ययन भइरहेको बताए।
उनले सबै निर्वाचन क्षेत्रमा आवश्यकता र मागका आधारमा योजना तथा कार्यक्रमहरू छनोट गरी आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न सम्बन्धित मन्त्रालयहरूले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरिरहेको बताए।