
डुम्रे (तनहुँ)। तनहुँको शुक्लागण्डकी नगरपालिका-५, बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गौलाका बिरामीका लागि डायलासिस परीक्षण सफल भएको छ।
केन्द्रमा बुधबार एक बिरामीको डायलासिस परीक्षण गरिएको थियो। डायलासिस सेवा सञ्चालनका लागि गरिएको परीक्षण सफल भएको उपचार केन्द्रका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए।
“स्वास्थ्य विभागबाट डायलासिस सेन्टर सञ्चालनको स्वीकृति लिन गरिएको परीक्षण सफल भएको छ,” डा. श्रेष्ठले भने, “विभागबाट अनुगमन तथा निरीक्षणपछि नियमित सञ्चालनका लागि स्वीकृति पाउनेछौँ।”
सेन्टरमा डायलासिस सेवा प्रवाहका लागि सातवटा उपकरण जडान गरिएको र विभागले अनुगमनपश्चात् नियमित सञ्चालन अनुमति पाउने उनले बताए।
लायन्स क्लब अफ खैरेनीटार, म्याग्दे र लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्सलगायत संस्थाले डायलासिस सेन्टर स्थापनाका लागि सहयोग गरेका छन्। सेन्टर स्थापना भएपछि तनहुँ, स्याङ्जा, कास्की, लमजुङ, नवलपुरलगायत जिल्लाका बिरामीले डायलासिस सेवा लिन सहज हुने लायन्स डायलासिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले जानकारी दिए।