
काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा वडा न. छ छितापोखरीमा अवस्थित श्री दिप्रुङ माध्यमिक विद्यालयको अभिभावक दिवसको अवसरमा विद्यालयका पूर्व विद्यार्थी तथा हाल नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान कल्पना खड्काले विद्यार्थीहरूका लागि आवश्यक खेलकुद सामग्री सहयोग गरेकी छिन्। गत सोमबार उनले आफ्नो पूर्व विद्यालयलाई विभिन्न खेलकुद सामग्री उपलब्ध गराउँदै विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याएकी हुन् ।
खड्काले विद्यालयलाई दुई थान भलिबल, दुई थान क्रिकेट बल, एक थान ब्याडमिन्टन, ब्याट, स्किपिङ रस्सी, टेबुल टेनिस सेट, फुटबल र कक जस्ता खेलकुद सामग्री उपलब्ध गराइन्। यसअघि यस विद्यालयका कुनै पनि पूर्व विद्यार्थीले विद्यार्थीहरूका लागि खेलकुद सामग्री सहयोग गरेका थिएनन्। खड्काको यो पहलले विद्यालयका विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा अगाडि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। उनले १५ हजार बराबरको सो विद्यालयलाई विद्यार्थीहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्दै खेलकुद सामाग्री वितरण गरेकी हुन् ।
खड्काले आफूले श्री दिप्रुङ माध्यमिक विद्यालयबाट नै शिक्षा सुरु गरेकी र यही विद्यालयबाट कक्षा ९ सम्म पढेकी थिइन्। उनले साकेला गाउँपालिका मात्तिमबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्दै हाल मास्टर डिग्रीसम्मको शिक्षा पूरा गरेकी छिन्। उनी नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग काठमाडौँमा कार्यरत छिन्।
उनले विद्यालयको शैक्षिक स्तर सुधार गर्न थप योगदान पुर्याउने प्रतिबद्धता जाहेर गर्दै आगामी दिनहरूमा विद्यालयको शैक्षिक पूर्वाधार सुधार गर्न विशेष अक्षयकोष स्थापना गर्ने योजना रहेको बताइन्। साथै, विद्यार्थीहरूको सृजनशीलता र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न कला, संस्कृति र खेलकुद क्षेत्रमा पनि सहयोग गर्ने योजना रहेको उनको भनाइ छ ।
विद्यालय परिवार र स्थानीय समुदायले खड्काको यस उल्लेखनीय योगदानलाई उच्च सम्मान गर्दै हार्दिक धन्यवाद ज्ञापनसहित सम्मान गरेका छन्। उनको यो पहलले विद्यार्थीहरूमा नयाँ उत्साह र प्रेरणा सिर्जना गरेको छ भने विद्यालयको शैक्षिक र खेलकुद क्षेत्रको विकासमा ठूलो भूमिका खेल्ने अपेक्षा छ।
सोही क्षेत्रका विद्यार्थीहरु भविष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रि खेल क्षेत्रमा उदाएको हेर्ने उनको चाहाना छ । विद्यार्थीहरुको रुचिअनुसार खेल क्षेत्रलाई प्रोत्साहन गर्दै कलाको सम्मान गरी उत्कृष्टताका आधारमा विभिन्न प्रतियोगितामा सहभागी गराउने विषयमा विद्यालय व्यावस्थानपन समिति, अभिभावक र शिक्षकहरु समेत सारथी बन्नुपर्छ ।